Our Blog


“Majority Market Share” – Naya Patrika News

Author : admin Date : September 3, 2018

ट्यांकीको अगुवा जसले ओगटेको छ आधा बजार

हामी स्थापनादेखि नै पानीसँग जोडिएका वस्तुहरू उत्पादनमा सक्रिय छौँ । अब हाम्रो उद्देश्य सडकको नाली र ढलमा सिमेन्टका ‘ह्युमपाइप’ विस्थापन गर्ने हो ।

विश्वभर प्लास्टिक ट्यांकी प्रचलनमा आइसकेको थियो । तर, नेपालमा भने फलामको जिआई ट्यांकी नै प्रयोग भइरहेको थियो । सहरतिर हरेक घरको छतमा जिआई ट्यांकी राखेको देखिन्थ्यो । नेपालको पानीमा आइरन बढी हुने हुँदा जिआई ट्यांकी खिया लागेर ५–१० वर्ष  पनि मुस्किलले चल्थ्यो । अर्थात छोटो समयमै काम नलाग्ने हुन्थ्यो ।

खिया लागेको ट्यांकी पुनः प्रयोग गर्नलायक हुँदैन थियो । मोटो रकम खर्चेर ट्यांकी फेरिरहनुपर्ने बाध्यता थियो । त्यसवेला कमल जैनको परिवारले भारतमा प्लास्टिक ट्यांकी उत्पादन सुरु गरिसकेको थियो । उनी प्लास्टिक उद्योग राम्ररी बुझेका व्यक्ति थिए । उनले नेपालमा प्लास्टिक ट्यांकी व्यवसायमा राम्रो सम्भावना देखे । आममानिसको आवश्यकता पनि थियो । र, अढाई दशकअघि हिलटेक ब्रान्डको ट्यांकी उत्पादन सुरु भयो ।


२५ वर्षअघि कमलले विराटनगरको टंंकी सिनुवारीमा प्लास्टिक उद्योग स्थापना गरे । उद्योगमा ५० लाखजति लगानी भयो । त्यस समयमा नेपालमा प्लास्टिक ट्यांकीबारे त्यति धेरै थाहा थिएन । प्लास्टिक ट्यांकी भन्नेबित्तिकै पानीमा प्लास्टिकको गन्ध आउँछ, धेरै समय टिक्दैन होला भन्ने आशंका र अनुमान थियो ।

‘नेपाली उपभोक्ताले सुरुका २/३ वर्ष प्लास्टिक ट्यांकी स्वीकार नै गरेनन्,’ कमल सुरुवातीका दिन सम्झिन्छन्, ‘मैले हजारौँ मान्छे भेटेँ, मेला–महोत्सव धाएर व्यापक प्रचार गरेँँ, प्लास्टिक ट्यांकी प्रयोग गर्ने बानी बसाल्न धेरै कसरत गर्नुपरेको थियो ।’ उनले ५ वर्षपछि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा अर्को उद्योग स्थापना गरे । त्यसयता उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

सहरका घर–घरमा हिलटेक ट्यांकी प्रयोग हुन थाले । यसको माग बढ्न थाल्यो । पुराना घरले जिआई ट्यांकी हटाएर प्लास्टिक ट्यांकी राख्ने क्रम सुरु भयो । नयाँ बनेका घरहरूमा सीधै प्लास्टिक ट्यांकी प्रयोग हुन थाल्यो । गाडी पुगेको पहाडी भेगमा पनि प्लास्टिक ट्यांकी पुग्ने क्रम सुरु भयो । अहिले सहरका सबैजसो घरको छतमा प्लास्टिक ट्यांकी राखेको देखिन्छ । प्लास्टिक ट्यांकीको प्रयोग बढेपछि उद्योग पनि थपिँदै गए । अहिले मुलुकभर २५ वटा प्लास्टिक ट्यांकी उद्योग सञ्चालनमा आइसकेको कमल बताउँछन् ।

‘विदेशमा प्लास्टिक ट्यांकी भइसक्दा नेपालीले छिट्टै बिग्रिने जिआई ट्यांकी प्रयोग गर्न बाध्य थिए,’ उनी भन्छन्, ‘मलाई लाग्यो, ‘जिआई ट्यांकीलाई किन प्लास्टिक ट्यांकीले विस्थापित नगर्ने ?’ प्लास्टिक ट्यांकी प्रयोगमा हिलटेकले क्रान्ति ल्यायो । प्लास्टिक ट्यांकी सस्तो, कम जोखिमपूर्ण, हलुका र टिकाउ भएकाले सबैको रोजाइमा यो पर्दै गयो । अहिले फलामे ट्यांकी त्यति प्रयोगमा रहेको देखिँदैन ।

हिलटेक ट्यांकी देशभर पुगिसकेको छ । सहर, बजार र गाउँसम्म यसको माग उस्तै छ । तराईका फाँटदेखि उच्च हिमाली भेगमा पनि हिलटेकको माग छ । शान्ति सेना र प्रहरीमार्फत हाइटीसम्म पनि हिलटेक ट्यांकी पुगेको छ ।

प्लास्टिक ट्यांकी लामो समय टिक्छ । यो ट्यांकी फुटे पनि शतप्रतिशत रिसाइक्लिङ हुन्छ । उनका अनुसार बिग्रिएको ट्यांकी बिक्री गर्दा ५० प्रतिशत मूल्य फिर्ता पाइन्छ । फलामे ट्यांकीमा यो सबै सम्भव छैन । ‘यो यथार्थ मान्छेले बिस्तारै बुझ्न थाले,’ उनले भने, ‘विश्वास पनि बढ्दै गयो ।’ अहिले हिलटेक ट्यांकी आवासीय घरदेखि बिजनेस हाउससम्म प्रयोग भइरहेको छ । हिलटेक ट्यांकी देशभर पुगिसकेको छ । सहर, बजार र गाउँसम्म यसको माग छ ।

तराईका फाँटदेखि, उच्च हिमाली भेगमा पनि हिलटेकको माग उस्तै छ । नेपाली शान्ति सेना र प्रहरीमार्फत हाइटीसम्म पनि हिलटेक ट्यांकी पुगेको कमल बताउँछन् । हिलटेक ट्यांकी सय लिटरदेखि १० हजार लिटरसम्मको क्षमतामा उपलब्ध छ । दैनिक दुई सयदेखि तीन सयवटा हिलटेक ट्यांकी बिक्री हुन्छन्,’ कमल भन्छन्, ‘अहिले पनि हिलटेक ट्यांकी जगत्को अगुवा हो । गुणस्तरमा सम्झौता नगरेकै कारण हिलटेकप्रति उपभोक्ताको विश्वास कायम छ ।’ नेपालमा हिलटेकको बजार हिस्सा ५० प्रतिशत रहेको उनको दाबी छ ।

हिलटेक उद्योग सञ्चालनमा आउँदा जिनटेक्स पनि सञ्चालनमा आएको थियो । लगत्तै रुफटप ट्यांकी पनि सञ्चालनमा आयो । तर, यी दुवैले राम्रो मार्केटिङ गर्न सकेनन् । जिनटेक्समा कमलको समेत लगानी थियो । अहिले यी दुवै कम्पनी गुमनाम छन् । त्यही समयमा कमलले नै सञ्चालनमा ल्याएको हिलटेक ब्रान्ड प्लास्टिक ट्यांकी जगत्को ‘ट्रेन्ड सेटर’ नै बन्यो । अहिले हिलटेकसँग नेपाटप र रिजालको पोली ट्यांकले प्रतिस्पर्धा गरिरहेका छन् । उनी भन्छन्, ‘दुवै ट्यांकीका सञ्चालक कुनै समय हिलटेकका डिलर थिए ।’

विराटनगरमा डन्डी उद्योग धेरै थिए । देशका विभिन्न स्थानमा विराटनगरबाटै डन्डी आपूर्ति हुने गथ्र्यो । हिलटेक ट्यांकी हलुका हुने भएकाले कमलले डन्डी बोकेका ट्रकमाथि ट्यांकी राखेर देशभर पु-याएको बताए । बालाजुमा उद्योग खुलेपछि हिलटेकले थप बजार लियो, जिआई ट्यांकी हराउँदै गयो । ‘म दाबी गर्छु, १५/२० वर्षदेखि एउटै हिलटेक ट्यांकी प्रयोग गर्नेहरू पनि छन्,’ उनी भन्छन्, ‘हिलटेकले गुणस्तरमा कहिल्यै सम्झौता गरिएन, गरिँदैन पनि ।’

हिलटेक ब्रान्ड ट्यांकीमा मात्र सीमित छैन । कमलले आफ्ना सबैजसो व्यवसाय हिलटेक ब्रान्डबाटै सुरु गरे । ट्यांकी सफल भएपछि हिलटेक ब्रान्डबाटै एयर कन्डिसनर उत्पादन सुरु गरे । हिलटेक एयरकन्डिसनर १८ वर्षअघि सुरु भएको उनी बताउँछन् । त्यो समय नेपालमा एयरकन्डिसनरको प्रयोग त्यति हुँदैनथ्यो । अहिलेजस्तो आयातकर्ता पनि थिएनन् ।

एयरकन्डिसनरपछि हिलटेक ग्यास गिजर बजारमा आयो । एउटा परिवारले एउटा सिलिन्डरबाट तीन महिना गरम पानी प्रयोग गर्न सक्ने सुविधा सुरु भयो । यो प्रविधिबाट धारा खोल्नेबित्तिकै पानी गरम हुन्छ । यसले पनि राम्रै बजार लिएको उनी बताउँछन् । अहिले पनि सिजनमा ६/७ हजार ग्यास गिजर बिक्री हुने गरेको उनले जानकारी दिए ।

कमलले हिलटेक ब्रान्डमै बजारमा पिपिआर र सिपिभिसी पाइप उत्पादन सुरु गरे । हिलटेक पाइप १० वर्षदेखि बजारमा उपलब्ध छ । यसले पनि राम्रो बजार लिइरहेको छ । हिलटेक ब्रान्डमै वाटर पम्प पनि बजारमा आयो । अहिले हिलटेक ब्रान्डबाटै कमर्ट उत्पादन सुरु भइसकेको छ । छिट्टै बजारमा हिलटेक कमर्ट आउने उनको भनाइ छ ।

‘हामी स्थापनादेखि नै पानीसँग जोडिएका वस्तुहरू उत्पादनमा लागिरहेका छौँ,’ कमल भन्छन्, ‘अब हाम्रो उद्देश्य सडकको नाली र ढलमा सिमेन्टका ‘ह्युमपाइप’ विस्थापन गर्ने हो ।’ उनले प्लास्टिकका ठूला पाइपको परीक्षण उत्पादन सुरु गरिसकेका छन् । उनका अनुसार अहिले नेपालमा प्लास्टिकका ढल र नालीमा राख्ने पाइप पाइँदैन ।

प्लास्टिक पाइपको लाइफ लामो हुन्छ । सिमेन्टमा ह्युमपाइपले भन्दा बढी लोड पनि धान्न सक्छ । यो हलुका हुने भएकाले प्रयोग गर्न पनि धेरै सजिलो हुनेछ । ‘अब ठूला पाइप उत्पादनमा आक्रामक भएर लाग्छौँ,’ उनले भने, ‘अबको ४/६ महिनामै बजारमा आउँदै छौँ ।’ ढल तथा नालीमा राखिने पाइपले राम्रो बजार लिने उनको विश्वास छ ।

दैनिक दुई सयदेखि तीन सयवटा हिलटेक ट्यांकी बिक्री हुन्छन् । अहिले पनि हिलटेक ट्यांकी जगत्को अगुवा हो । गुणस्तरमा सम्झौता नगरेकै कारण हिलटेकप्रति उपभोक्ताको विश्वास कायम छ ।

पछिल्लो दुई वर्षदेखि हिलटेक ब्रान्डमा स्टिल ट्यांकी पनि उत्पादन भइरहेका छन् । स्टिल ट्यांकी हाइजेनिक छन् । तर, प्लास्टिक ट्यांकीभन्दा दोब्बर महँगो पर्न जाने उनी बताउँछन् । पानी तातो बनाउने सोलार ट्यांकीहरू स्टिलका राख्ने गरेको देखिन्छ । लामो समयदेखि प्लास्टिक ट्यांकी लगाइरहेका उपभोक्तालाई केही फरकपन दिनका लागि महँगो परे पनि स्टिल ट्यांकी उत्पादन गरिरहेको उनी सुनाउँछन् । यो नयाँ ट्यांकी खोज्नेलाई गतिलो विकल्प हो ।

कम्पनीले सडकमा रोड डिभाइडर पनि बनाउँदै आएको छ । यो सिएसआरअन्तर्गत हो । सवारी दुर्घटना भएमा सिमेन्टेड डिभाइडरले मृत्युको मुखमा पु-याउँछ । तर, प्लास्टिक डिभाइडरले धनजनको क्षति हुनबाट जोगाउँछ । हिलटेक ब्रान्डमै फोहोर राख्ने डस्टबिन पनि उत्पादन हुँदै आएको छ । हिलटेक ब्रान्ड प्लास्टिकका उत्पादनको अग्रणी बनेको कमल बताउँछन् ।

कमलले साँगामा अग्लो शिवमूर्ति निर्माण गरेका छन् । उनको दाबी छ, ‘यो शिवमूर्ति संसारकै अग्लो हो ।’ अहिले साँगा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ । राजधानीवासीका लागि घुम्न जाने नजिकको आकर्षक गन्तव्य साँगा बनेको छ । साँगाको शिवमूर्तिमा वार्षिक १० लाखभन्दा बढी भक्तजन पुग्छन् ।

उनले अग्लो मूर्ती छेवैमा लक्जरी रिसोर्ट निर्माण गरिरहेका छन् । अहिले १५ कोठाको होटेल र रेस्टुरेन्ट चलिरहेको छ । भूकम्पअघि ३५ कोठाका थियो । होटेलमा कोठा र सेवा–सुविधा थप्ने क्रम जारी छ । छिट्टै ६० कोठा सञ्चालनमा आउने उनी बताउँछन् । होटेलमै १५ सय क्षमताको तीनवटा ब्यांक्वेट हल पनि निर्माण हुँदै छन् । यो सबै निर्माणका पछाडिको उद्देश्य भने आत्मसन्तुष्टिका लागि भएको उनको भनाइ छ । आम्दानीका लागि हिलटेक ब्रान्ड भए पनि साँगालाई धार्मिक पर्यटनका रूपमा विस्तार गर्ने काम आत्मसन्तुष्टिका लागि गरिएको उनले बताए ।

Source: http://www.nayapatrikadaily.com/2018/09/03/90249/

All Rights Reserved © Hilltake Pvt. Ltd. Powered By: dynavativ.com.